चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न स्वास्थ्य समितिको सरकारलाई निर्देशन


काठमाडौ– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि आक्रमण र दुव्र्यव्यवहार गर्नेलाई नियमानुसार कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले चिकित्सकमाथि भएको आक्रमण र दुव्र्यव्यवहारप्रति खेद प्रकट गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई भय रहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै, स्वास्थ्य क्षेत्रको समस्या वार्तामार्फत समाधान गर्न र चिकित्सकहरु पनि नियमित हुने वातावरण निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई समितिले भनेको छ ।
बैठकमा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चिकित्सकमाथि आक्रमण र दुव्र्यव्यवहार गर्नेलाई कानूनी कारवाही गरेर सहज रुपमा उपचार गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको जानकारी दिए । स्थायी रुपमा समस्या समाधानका लागि मन्त्रालयले गम्भीर भएर काम गरेको र गृह पनि त्यही अनुसार अघि बढेको उनको भनाइ छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले स्वास्थ्य संस्था शान्ति क्षेत्र हो भनेर स्थापित गर्न दृढ राजनीतिक संकल्प आवश्यक रहेको बताए । घटनालाई राजनीतिक रंग दिएर दोषीहरुले उन्मुक्ति पाउदा मनोवल बढेको र यस्ता घटना बढ्दै गएको उनको बुझाइ छ । सरकारसंग भएको सहमतिको मसि नै सुक्न नपाउदै आक्रमणका घटनामा कमी नआएकाले विरोधका कार्यक्रम जारी रहेको उनले स्पष्ट पारे ।