एमाले प्रदेश अधिवेशन: नेतृत्व चयनका लागि कर्णालीमा मतदान हुँदै


सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मध्यान्न १२ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन मण्डलले जानकारी दिएको छ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटी समूहबाट कालीकोटका मिनबहादुर शाही प्यानल नै बनाएर चुनावी मैदानमा छन् । यस्तै कर्णालीका पूर्वसभामुख दैलेखका राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा भने दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतरा प्रतिष्पर्धामा छन् । सचिवमा सुर्खेतका धुर्वकुमार शाही र दैलेखका रुद्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । अधिवेशनको उद्घाटनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए । तर सहमतिको प्रयासले सार्थकता नपाएपछि निर्वाचनबाटै नेतृत्व छनोट गर्न लागिएको हो ।