मुलुकको आर्थिक अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग


काठमाडौ– सांसदहरुले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका छन् । आज सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा सांसदहरुले सरकारले अर्थतन्त्रमा सुधार आएको दावी गरेपनि अवस्थामा सुधार भएको नदेखिएकाले अर्थतन्त्रका अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने माग राखेका हुन् । बैठकमा समिति सदस्य बिष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा खुला बहस गर्नुपर्ने बेला आएको बताए । अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय निकाल्ने गरि छलफल चलाउनुपर्ने उनको भनाइ छ ।
अर्थतन्त्र मन्दीको अवस्थालाई सरकारले स्वीकार गर्नुपर्ने भन्दै पौडेलले अर्थतन्त्रको बारेको छलफलमा अर्थमन्त्री नै अनुपस्थित भएकोप्रति भने रोष प्रकट गरे । सांसद डा.स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको अवस्थामा बारेमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताए । आर्थिक सूचकलाई सूक्ष्म ढंगले हेरेर यसको अवस्थाको मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद ज्ञानेन्द्र शाहीले भन्सारमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा निर्यात बढाएर अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने देखिएको उनको राय छ । बैठकमा अर्थमन्त्रालयका सचिव कृष्णहरी पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे लगाएतले बजेटले लिएका नीति कार्यन्वयनका लागि अर्थले समन्वयकारी भूमिका निर्वाह गरिरहेको दावी गरेका थिए ।