`

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

Nepal One HD १९ असोज २०८० ६:४३
प्रमुख खबर

गण्डकी, १९ असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गर्नुभयो । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गर्नुभयो । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उहाँका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गर्नुभयो । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।


प्रतिक्रिया