`

विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

Nepal One HD २२ असोज २०८० ६:२३
खेलकुद

काठमाडौँ-आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए । भारतले सुरुआतमै तीन विकेट गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका थिए ।बलिङतर्फ अष्ट्रेलियाका जोश हाजेल्वुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे । यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई/दुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए । 


प्रतिक्रिया