`

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

Nepal One HD २४ असोज २०८० १८:४४
प्रमुख खबर

धुलिखेल, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको आज उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताउनुभयो ।नेपालको लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुआत गर्नेे प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताउनुभयो ।केन्द्रले नेपालको प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज–अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि योगदान गर्न आह्वान गर्नुभयो ।केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो । केन्द्रका निम्ति अत्याधुनिक उपकरण पनि कोरियाले नै उपलव्ध गराएको हो । नेपालको प्राविधिक एवं शैक्षिक उन्नयनका निम्ति कोरिया सरकारले निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।त्यस अवसरमा राष्ट्रपतिले केन्द्रका विशिष्टीकृत कक्षको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर गणतन्त्र कोरिया र नेपालबीचको मैत्रीको प्रतीकका रुपमा रहने विश्वास व्यक्त गर्नभयो । उहाँले कोरिया सरकारको सहयोगमा सञ्चालित परियोजनाले प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास परियोजना सञ्चालन गर्न नेपाललाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।गणतन्त्र कोरिया नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा सधैँसँगै रहेको बताउँदै कोरियाली राजदूतले नेपाललाई आफ्नो देशले उत्कृष्ट साझेदारको रूपमा लिएर उच्च प्राथमिकतामा राखेकोे बताउनुभयो ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नवनिर्मित भवन रु ४० करोडमा बनेको तथा रु २२ करोडका उपकरण केन्द्रमा रहेका बताउनुभयो ।


प्रतिक्रिया