`

सानेपामा कांग्रेसको शुभकामना र चियापान

Nepal One HD ११ कार्तिक २०८० १४:०६
राजनीति

काठमाडौ– कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरिरहेका छन् ।

भरखरै सुरु भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । कांग्रेसले बडादशँै, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिनुभएको थियो । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको हो । कांग्रेसले बडादसँंैको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया