`

‘धार्मिक, पर्यटकीय स्थलको विकास एवं प्रचारप्रसार गरिनुपर्छ’ – ओली

Nepal One HD १७ कार्तिक २०८० १८:१०
प्रमुख खबर

मलेखु (धादिङ) १७ कात्तिक ः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरा सुन्दरी आफँैमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्नुहुँदै उहाँले धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलको विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभएको हो । नेता ओलीले एमालेको नेतृत्वमा मात्रै बुढीगण्डकी जलविद्युत् आयोजनाको कामअघि बढ्ने दावी गर्नुभयो ।

अहिलेको सरकारले बुढीगण्डकी आयोजनालाई चासो नदिएको उहाँले बताउनुभयो । आफु प्रधानमन्त्रीबाट हटेपछि बुढिगण्डकी जलविद्युत् परियोजनाको अघि बढेको काम रोकिएको उहाँको भनाई थियो ।

कात्तिक १७ गते देखि २७ गतेसम्म सल्यानटारमा हुने मेला हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । मेलामा ९० कक्ष रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।

मेलाको आकर्षणको रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे, तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिने छ । कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपका बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहेको छ ।


प्रतिक्रिया