`

झापामा बिक्री भएन डेरीको घ्यू, बङ्गलादेशमा निकासीको वातावरण बनाइदिन माग

Nepal One HD २४ मंसिर २०८० १९:२९
अर्थ समाचार

झापा, २४ मङ्सिर : दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू बिक्री नभएपछि व्यवसायीहरुले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा रु ५० हजार केजी नौनी घ्यू जम्मा भएको जनाएका छन् । व्यवसायीहरुका अनुसार बिगत नौ महिनादेखि घ्यूको बिक्री घटेको छ । जसले गर्दा किसानले बेलैमा दुधको भुक्तानी उद्योगबाट पाउन छाडेका छन् भने दूधको मूल्य पनि घटेको छ ।दूधको बिक्रीमा समस्या आएपछि कोशी प्रदेश डेरी एशोसिएशनले प्रदेशभर कच्चा दूधको मूल्यप्रति लिटर रु १० का दरले घटाएको छ । डेरी उद्योगले सातामा कम्तीमा एक दिन ‘मिल्क होलिडे’को माग गरेका छन् । यसको सोझो असर दूध उत्पादन किसानलाई परेको छ ।“उत्पादन बढेको बढ्यै छ तर बिक्री भने घटेको छ । बिक्री घटेपछि यहाँका डेरी उद्योग सङ्कटमा परेका छन्”, नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले भन्नुभयो, “भारत र बङ्गलादेशमा निकासीको वातावरण बनाइयोस् भनेर हामीले सरकारलाई दबाब दिइरहेका छौँ ।” भारत र बङ्गलादेशमा नेपालमा उत्पादित दूध, नौनी घ्यू र छुर्पीको बजार राम्रो भएको जनाउँदै उपाध्यक्ष चिमरियाले सरकारले अनुदान दिएर भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निकासीको बाटो खोल्नुपर्नेमा जोड दिनुभयो ।बिगतमा भारतमा दुध र छुर्पी निर्यात हुने गरेको थियो । कोशी प्रदेश सरकारबाट घ्यू, पाउडर दूध र छुर्पीको विदेश निकासीका लागि घाटापूर्ति अनुदान दिने प्रतिबद्धता आएको र सो प्रतिबद्धता कार्यान्वयनमा आए डेरी उद्योगको हालको समस्या समाधान हुने उहाँको भनाइ छ ।चिमरियाले झापाको मेचीनगर–१२ मा सञ्चालन गरेको रितिका डेरी उद्योगमा मात्रै हाल ३० हजार केजी नौनी घ्यू थुप्रिएको छ । उहाँको डेरीमा हाल २२ हजार लिटर कच्चा दुध दैनिक खपत हुने गरेको छ । सङ्कलित कच्चा दुधलाई प्रशोधन गरेर प्याकेटमा बिक्री गरिँदै आइएको छ । दूधबाहेक नौनी र खारेको घ्यू, छुर्पी, पनिर र मिठाइ उत्पादन गरी उद्योगले बजारमा लैजाँदै आएको उहाँले बताउनुभयो ।चिमरिया परिवारले रु २५ करोड लगानी गरेर स्थापना गरेको उक्त उद्योगमा हाल ८६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने गाईपालन गरिरहेका पाँच हजार पाँच सय किसानहरु जोडिएका छन् । उद्योगका साना र ठूला गरी कोशी प्रदेशभर एक हजार पाँच सय बिक्री कक्ष छन् ।बिक्री घट्दा किसानहरुलाई दिइने दूधको नियमित भुक्तानीमा समेत असर परेको छ । रितिका डेरीले बिगतमा आधा महिनामै किसानको भुक्तानी गर्दै आएकोमा हाल एक महिनादेखि भुक्तानी गर्न सकिरहेको छैन । किसानहरुको रु पाँच करोड भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।दैनिक १५ हजार लिटर कच्चा दूध सङ्कलन गर्दै आएको मेचीनगर–८ स्थित एनएमसी डेरी उद्योगमा पनि १५ हजार केजी नौनी घ्यू थुप्रिएको उद्योगले जनाएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित भएकाले किसानको दूधको मूल्य नियमित तोकिएकै समयमा भुक्तानी दिइरहेको उद्योगले जनाएको छ ।आठ वर्षअघि सहकारीको रु १५ करोड लगानीमा यो डेरी स्थापना भएको थियो । उद्योगमा हाल छ हजार पाँच किसान जोडिएका छन् । उद्योगले प्रशोधित दूध, दही, नौनी र खारेको घिउ, पनिर, मिठाइलगायत उत्पादन गर्दै आएको छ । “उत्पादनहरु बिक्री नहुँदा समस्या आउने नै भयो,” एनएमसी डेरी उद्योगका व्यवस्थापक नवराज अधिकारी भन्नुभयो, “घ्यू बिक्री बढाउन प्रयास गरिरहेका छौँ । बिक्री बढ्न थालेको पनि छ ।”हाल यी दुवै उद्योगले घ्यूको बिक्री बढाउन मूल्य घटाएका छन् । बिगतमा प्रति केजी रु नौ सयसम्ममा बिक्री भएको नौनी घ्यू अहिले रु सात सय ५० मा बिक्री भइरहेको छ । एनएमसी डेरीले हालै प्रतिकेजी रु सात सयका दरले सर्वसाधारणलाई घ्यू बिक्री गरेको थियो । रितिका डेरी उद्योगले दूध सङ्कलनकर्ता साना व्यवसायीलाई घ्यू दिएर गाउँमा बिक्री गर्न पठाउने गरेको छ भने एनएमसी डेरीले ठूलो सङ्ख्यामा रहेका कर्मचारीलाई सहुलियत दरमा घ्यू किन्न प्रोत्साहित गरिरहेको छ ।


प्रतिक्रिया