`

मंसिर २८ गतेदेखि काठमाडौमा हस्तकला व्यापार मेला हुने

Nepal One HD २५ मंसिर २०८० १७:४१
अर्थ समाचार

काठमाडौ । २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता मंसिर २८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । आयोजक नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।
मेला मंसिर २८ गते देखि पुष २ गतेसम्म काठमाडौंको दरवारमार्गस्थीत अन्नपूर्ण होटलमा मेला आयोजना हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडलबाट उद्घाटन हुने मेलामा हस्तकलाका करिव १ सय ३० वटा स्टल रहने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए । मेलामा विदेशी प्रदर्शनकर्तामा पाकिस्तान, बंगलादेश समेत रहेको उनले बताए ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि मेला आयोजना गर्दै आएको छ । मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने महासंघले जनाएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’ मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुमध्ये प्रथम, द्वितिय र तृतियलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको महासंघका अध्यक्ष शाक्यले जानकारी दिए ।


प्रतिक्रिया