स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

अर्थ समाचार

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याइएको हो, तर बीमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन । अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ‘ग्यारेन्टी’ गर्ने काम उच्च प्राथमिकतामा हुनेछ ।”
स्वास्थ्य बीमा ऐनबमोजिम बीमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्याङ्कन संयन्त्र, बीमाको दायरामा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताललगायत संरचना र सेवाको गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारुकताका साथ लागिरहेको जानकारी दिँदै उहाँले बीमाको हालको रकमको दायरा बढाइनेछ र आधारभूतबाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बीमामा आबद्ध गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्वास्थ्य बीमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्डअनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने पनि उहाँले स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट