`

खोटाङमा दशैंमा माइती जाने ६४२ चेलीले पाए निःशुल्क बाइक सेवा

Nepal One HD ८ कार्तिक २०८३ १२:३०
समाचार

काठमाडौं । दशैंमा माइतीघर जाने-आउने छोरीचेलीलाई लक्षित गरी खोटाङमा सञ्चालन गरिएको ‘दशैं तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत चार दिनमा ६४२ जनाले निःशुल्क बाइक सेवा पाएका छन्।

समाजसेवाको भावनाले प्रेरित युवाहरूको समूहले सञ्चालन गरेको अभियानअन्तर्गत कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले सेवा लिएका हुन्। अभियानका संयोजक सन्जयकुमार राईका अनुसार कार्यक्रमको तेस्रो संस्करणमा ५० जना राइडर परिचालन गरिएको थियो।

अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२, जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रूपमा सहभागी भएका थिए। माइती तथा मावलीघर जाने-आउने क्रममा निःशुल्क बाइक सेवा पाएपछि चेलीहरू खुसी भएका छन्।

युवाहरूको टोलीले आगामी तिहारमा पनि कात्तिक २४ देखि २६ गतेसम्म तीन दिन निःशुल्क बाइक सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाहरूले २०८१ सालदेखि यो अभियान सुरु गरेका हुन्। माइतीघर जाने क्रममा सवारीसाधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका तथा भाडा तिरेर यात्रा गर्न नसक्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी सेवा सुरु गरिएको संयोजक राईले बताए।

अभियानअन्तर्गत दिक्तेलबाट ३५ किलोमिटर दूरीसम्म निःशुल्क बाइक सेवा उपलब्ध गराइन्छ। अभियानमा परिचालन गरिने बाइकका लागि आवश्यक इन्धनको व्यवस्था सहयोग संकलनमार्फत गरिँदै आएको छ।

संयोजक राईका अनुसार विशुद्ध सामाजिक सेवाको उद्देश्यले सञ्चालित यस अभियानबाट २०८१ सालमा ३४५ जना र २०८२ सालमा करिब ७०० जना चेलीले निःशुल्क बाइक सेवा पाएका थिए।

तर, नेपाल सरकारबाट सेवा-सुविधा प्राप्त गर्ने व्यक्ति, बहालवाला जनप्रतिनिधि तथा घरमै सवारीसाधन भएका चेलीलाई भने यो सेवा उपलब्ध गराइँदैन।

दशैंको टीका तथा तिहारको भाइटीका मनाउन माइतीघर जाने चेलीलाई सहज यात्रा गराउने उद्देश्यले सुरु गरिएको यो रचनात्मक अभियान खोटाङसँगै संखुवासभामा समेत विस्तार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *