पीटीआईका उपाध्यक्ष कुरेशी पक्राउ
पाकिस्तानको सर्वोच्च अदालतले गत साता गोप्य कागजातसम्बन्धी मुद्दामा जमानत पाएका पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष शाह महमूद कुरेशीलाई अडियाला जेलबाहिर पुनः पक्राउ गरिएको छ ।
प्रहरीले पीटीआई नेतालाई हिरासतमा लिनुको कारण भने खुलाएको छैन । पाकिस्तान तेहरीक–ए–इन्साफले सामाजिक सञ्जालमार्फत कुरेशीलाई गोप्य कागजातसम्बन्धी मुद्दामा जमानतमा रिहा भएपछि फेरि अडियाला जेल बाहिरबाट गिरफ्तार गरिएको पुष्टि गरेको छ ।
यसअघि, रावलपिण्डीका डेपुटी कमिस्नरले सार्वजनिक व्यवस्थामा खलल पुर्याएको अभियोगमा जारी गरिएको हिरासत आदेश फिर्ता लिएको पोस्टमा उल्लेख छ । पीटीआईले कुरेशीलाई जेलबाहिर, यसको परिसरभित्रबाट दुर्व्यवहार गरिएको फुटेज पनि सार्वजनिक गरेको छ । कुरेशीलाई बख्तरबन्द प्रहरीको गाडीमा हाली हिरासतमा लगिएको थियो ।
पक्राउपछि गाडीमा राख्दै गर्दा कुरेशीले प्रहरीले अदालतको आदेशको उल्लङ्घन गरेको बताएका थिए । यसअघि शुक्रबार सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनका निकट सहयोगी कुरेशीलाई १०–१० लाख भारु बराबरको जमानत पेश गर्न आदेश दिएको थियो ।
