`

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

Nepal One HD १२ पुष २०८० १४:२७
अर्थ समाचार

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले आज गभर्नरविरुद्ध रिट दर्ता गरेका हुन् । उक्त रिटमा अदालतले भोली बिहान १० बजेका लागि पेसी तोकेको छ ।

अधिवक्तात्रयले दर्ता गरेको रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्ने व्यवस्था भएपनि गर्भनर अधिकारीको योग्यता ऐनले तोकेबमोजिम नभएको भन्दै नियुक्ती बदरको माग गरिएको छ । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र उक्त योग्यतालाई स्नातकोत्तर सरह मान्न नसकिने रिटमा उल्लेख छ । गभर्नर अधिकारी यसअघि लगानी बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत हुँदा पनि उनको योग्यतामाथि प्रश्न उठेको थियो । अधिकारी ०७६ साल चैत २४ मा गभर्नर नियुक्त भएका थिए ।


प्रतिक्रिया