प्रतिफल आउने गरी लगानी गरौँ : मुख्यमन्त्री चौधरी
देउखुरी (दाङ), ५ माघ : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि क्षेत्रमा लगानी गर्दा प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश योजना आयोगको आयोजनामा आज देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले अब सरकारले लगानीमात्रै गर्ने नभई त्यो लगानीबाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्ने बताउनुभयो ।
“हामी बाटो बनाउँछौँ, तर बाटोबाट स्थानीय र सरकारले पाउने प्रतिफल खोज्दैनौँ, अब त्यो खोजौँ”, उहाँले भन्नुभयो, “स्रोत परिचालन भयो भने त्यसका उपलब्धि देखिनुपर्छ, त्यसअनुसारको आयोगले नीति बनाउनुपर्छ ।”
मुख्यमन्त्री चौधरीले प्रदेश सरकार प्रत्येक घरमा कम्तीमा ३०–४० हजार आम्दानी हुने रोजगारी सिर्जना होस् भन्ने लक्ष्यमा रहेको बताउनुभयो । “आर्थिक विकासका लागि हामीले त्यो कमाउन सक्ने बनाउनुपर्छ । लगानीकर्ताले दिएको प्रतिवेदन पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनुपर्छ, त्यो उपयोगी र काम लाग्ने हुनुपर्छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रदेश सरकारका मन्त्री, सचिव, विज्ञ सदस्य हुनुहुन्थ्यो । योजना आयोगका उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीतिगत सुधारको प्रयास गरिरहेको बताउनुभयो ।
प्रदेश योजना आयोग सदस्यमा केसी
लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलवस्तुकी गीता केसी (४९) नियुक्त हुनुभएको छ । केसी नियुक्त भएपछि योजना आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसक्नुभएको थियो ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो । बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्य गरेको छ । समयानुकूल गराउन कार्यविधि संशोधन गरिएको पाण्डेयले बताउनुभयो ।
