दार्चुलामा पक्राउ गर्न आएका दुई प्रहरीमाथि छुरा प्रहार


धनगढी । दार्चुलामा एक व्यक्तिको छुरा प्रहारबाट दुई प्रहरी घाइते भएका छन् । आइतबार दार्चुलाको महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गर्दा दुई प्रहरी घाइते भएका हुन् ।
छुरा प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका हुन् । चक्कु प्रहारबाट ठगुन्ना गम्भीर घाइते भएका छन् भने र खड्कालाई सामान्य चोट लागेको छ । शनिबार उमेशले आफ्नी श्रीमतीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए ।
तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए। सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चक्कु प्रहारपछि उमेश भागेको र जङ्गलतिर गएको भन्दै खोजी थालिएको दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए। घाइते प्रहरीको भने उपचार थालिएको उनले बताए । केही महिना अगाडि भागेर विवाह भएकोमा उमेशले पत्नीलाई कुटपिट गर्ने गर्दथे । त्यसपछि उमेशकी पत्नीकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन्।