`

सामुदायिक विद्यालयमा निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर

Nepal One HD ११ माघ २०८० १५:१५
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार सप्तरीका रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो । अख्तियारका अनुसार सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रचलित दरभाउलाई आधार मानेर लागत अनुमान तयार गर्नुपर्ने थियो ।

तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले श्री लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरे । उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँ मा खरिद विक्री गरेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया