`

राष्ट्रियसभामा माओवादी बन्यो पहिलो दल

Nepal One HD ११ माघ २०८० १९:२७
प्रमुख खबर

काठमाडौं । राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बनेको छ । बिहीबार राष्ट्रियसभाका रिक्त १९ सिटका लागि भएको मतदानमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् ।

तीन जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल भएको हो । निर्वाचनमा कांग्रेसका १० सांसद निर्वाचित भएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भएका छन् । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । अब राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बनेको छ । एमाले लगातार ६ वर्षदेखि राष्ट्रियसभाको पहिलो दल थियो ।

अब एमाले तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा एमालेका १७ जना सांसद थिए । ८ जनाको पदावधि सकिएर बिदा हुने बेलामा राप्रपासँग तालमेल गरेर कोशीमा एक सिट जिते पनि ७ सीट गुमाएको छ । अब १० जना सांसद हुने भएकाले प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको हो ।

राष्ट्रियसभामा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी (जसपा) का ३ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १/१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रदेशहरुबाट ८/८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् । नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो ।


प्रतिक्रिया