‘बाह्रै महिना सडक सञ्चालनका लागि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य जरुरी’: मुख्यमन्त्री पाण्डे
ढोरपाटन (बागलुङ) १५ माघ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकांश ठाउँमा मोटरेबल सडक पुगेको भन्दै ती सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–६ दोगाडीमा मोटरेलपुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडकको पहुँचसँगै विकट गाउँमा पनि विकास देखिन थालेको बताउनुभयो । उहाँले अब गाउँमा उत्पादन हुने वस्तु बजारमा आपूर्तिका लागि सहज समेत भएको उल्लेख गर्नुभयो ।“धेरैले सङघीय व्यवस्थामाथि प्रश्न उठाइ रहेका छन्, कार्यान्वयनमा केही समस्या पक्कै छन्”, उहाँले भन्नुभयो, “तर सङ्घीय व्यवस्थाकै कारण दूरदराजसम्म विकास पुगेको छ ।” उहाँले अब हरेक नागरिक उद्यमशीलतासँग जोडिनुपर्नेमा जोड दिँदै गाउँमा अथाह सम्भावना भएको बताउनुभयो । “गाउँमा भएको सम्भावनालाई अवसरमा बदल्नुपर्छ, यसका लागि प्रदेश सरकार तयार छ”, उहाँले भन्नुभयो, “नागरिकका हरेक समस्या समाधानका लागि तीनै तहको सरकार प्रतिबद्ध हुन आवश्यक छ ।”ढोरपाटन पर्यटनका हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । अहिले ढोरपाटनसम्म जोड्ने सडकको अवस्था खराब हुँदा पर्यटक र स्थानीयले दुःख पाउने गरेको भन्दै छिट्टै समस्या समाधान हुने उहाँको भनाइ थियो । ढोरपाटनसम्म पुग्ने सडकलाई बाह्रै महिना सञ्चालनका लागि गुरुयोजना नै बनाएर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
