`

कतारमा मृत्युदण्ड सुनाइएका भारतीय जलसेनाका आठ अधिकारी रिहा

Nepal One HD २९ माघ २०८० ११:५७
विश्व

बीबीसी । कतारमा मृत्युदण्डको फैसला सुनाइएका आठ भारतीय नागरिकलाई अदालतले मुक्त गरिदिएको छ । उनीहरू भारतीय जलसेनाका पूर्वकर्मचारी हुन् । उनीहरूलाई कुन अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो भन्ने आधिकारिक जानकारी कतारले दिएको छैन । मुक्त भएकामध्ये सात जना भारत फर्किसकेका दिल्लीस्थित विदेश मन्त्रालयले सोमबार बताएको छ ।

अधिकारीहरूले ती आठ जनालाई दिइएको मृत्युदण्डलाई कैद सजायमा रूपान्तरण गरिएको जनवरीमा बताएका थिए । उनीहरू कतारस्थित दाहरा ग्लोबल नामक निजी कम्पनीमा कार्यरत थिए । जलसेनाका आठ पूर्वअधिकारी पक्राउ परेपछि सन् २०२२ को सेम्टेम्बर महिनादेखि उक्त विषयबारे भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दै आएका थिए ।

गत वर्ष मार्च महिनामा उनीहरूविरुद्ध मुद्दा चलेको थियो । कतार र भारत दुवैले उनीहरू कुन अभियोगमा दोषी ठहर भएर सजाय पाएका थिए भन्ने खुलाएका छैनन् । तर फाइनान्शल टाइम्स र समाचारसंस्था रोयटर्सका अनुसार ती आठ जनाविरुद्ध इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो । भारतीय विदेश मन्त्रालयले आफ्ना नागरिकहरूको मुक्ति र स्वदेशफिर्तीका लागि कतारका अमीरको निर्णयको प्रशंसा गरेको छ ।

ती आठ जनालाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाउँदा भारत सरकारले आफू ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको थियो । अदालती प्रक्रियाबाट सजाय नउल्टिए कतारका अमीरले क्षमादान दिन सक्ने सम्भावना रहेको थियो । ती भारतीय नागरिकहरू कार्यरत कम्पनीले कतारको जलसेनालाई उपलब्ध गराउने गरी एउटा पनडुब्बीसम्बन्धी कार्यक्रममा काम गरिरहेको थियो ।

उक्त कार्यक्रमको उद्देश्य रेडार छल्न सक्ने पनडुब्बीहरू निर्माण गर्नु थियो । त्यो कम्पनीमा ७५ भारतीय नागरिक कर्मचारी थिए। तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्वअधिकारी थिए। सन् २०२२ को मे ३१ मा उक्त कम्पनी बन्द भएको बताइएको छ।


प्रतिक्रिया