`

हामीले अहिले अलि बढी नै हेपाई खाइरहेका छौं : प्रधानमन्त्री

Nepal One HD १ फागुन २०८० १४:४२
प्रमुख खबर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपील गरेका छन् । जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी केन्द्रले मंगलबारदेखि राजधानीमा आयोजना गरेको प्रथम विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैसँग पनि नभएको उल्लेख गरे ।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।’

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उनले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपील गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

उनले भने, ‘सात राजनीतिक दलहरुलाई त्यतिबेलाको निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्काउन सक्ने र उनीहरुलाई राजनीतिकको रंगमञ्चमा ल्याउनसक्ने शक्ति माओवादी हो । अहिले हामीले कहाँ–कहाँ कमजोरी गर्यौं, अलि बढी नै हेपाई खाइरहेका छौं । अहिले माओवादी आन्दोलनलाई माओवादीको नेतृत्वलाई, एजेण्डालाई, माओवादीले गरेको त्याग र बलिदानलाई अपमान गर्ने कोसिस तिनै दलहरुले गरिरहेका छन् ।’

उनले माओवादी केन्द्रको दूरगामी इतिहास र परिवर्तनको पक्षमा बलिदान दिएको सम्मानका लागि माओवादीहरु एक ठाउँमा उभिन ढिला भइसकेको बताए ।
उनले भने, ‘देशभरिका कार्यकर्तालाई हाम्रो दूरगामी इतिहास र परिवर्तनका पक्षमा जाग्न अपील गर्दछु । मधेशी र दलित महिलाहरुले जसले सबैभन्दा बढी यो परिवर्तनका लागि बलिदान दिनुभएको छ । हामीले गरेको आन्दोलनमा सहिद नभएको कुनै जाती छैन । सबैको अस्तित्वलाई सम्मन गरौं । यसको मौलिकता र महानता नै यही हो ।’

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको यथार्थ सनाए । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भव्यरुपमा मनाउने उल्लेख गर्दै उनले यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

“नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन”, उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँकै दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन् ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य थिए । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रस्तावित विधानमा गत माघ २६ र २७ गते पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया