`

पर्वतको मोदीखोलामा मोटरेवल पुल निर्माणको माग

Nepal One HD २ फागुन २०८० २०:५९
समाचार

पर्वत, २ फागुन : पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माणको माग गरिएको हो ।

परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्रयाक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएमा यो सडकलाई मध्यपहाडी लोकमार्गका विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधि छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष महेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । गत सोमबार पर्वत आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई निर्माणस्थलमै लगेर पुलको योजना हन्तान्तरण गरिएको हो ।

दुवै पालिकाका जनप्रतिनिधिले संयुक्तरुपमा योजना हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्न माग गरेका हुन् । योजना ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा सो योजनासमावेश गर्ने प्रतिबद्धता जनाउनुभयो । “यहाँहरुले माग्नुभएको योजना महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “आगामी वर्षको बजेटमा योजना समावेश गरी पुल निर्माण गर्न पहल गर्छौं ।”

गत वर्ष गण्डकी प्रदेशसभाका सदस्य ललितकला गुरुङ संसद् विकास कोषको रकमबाट रु १० लाख विनियोजन गरी पुलको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । डिपिआरमा पुल निर्माणको कूल लागत झण्डै रु १० करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ । पुलको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ ।

मोटरेवल पुलको विस्तृत योजना प्रतिवेदन तयार पारेर प्रदेश सरकारमा बुझाइएको भए पनि बजेट विनियोजन नभएपछि निर्माणस्थलमै मुख्यमन्त्रीलाई लगेर योजना माग गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । पुल निर्माण भएमा पर्वतको मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर र पकुवा क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।

मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा मोदीको वडा नं ६ र कुश्माको वडा नं ८ ले पुल निर्माणका लागि सिफारिस गरिएको कुश्मा नगरपालिका–८ का अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया