`

नभाल्नीको मृत्युबारे पुटिन मौन

Nepal One HD ६ फागुन २०८० १५:१५
विश्व

बीबीसी । आर्टिक जेलमा निधन भएका रुसका प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको शव उनकी आमालाई नदिइएको निकट सहयोगीले बताएका छन् । किरा यार्मिशले नभाल्नीकी आमा ल्युडमिलालाई पोस्टमोर्टम परीक्षण सकिएपछि मात्रै उनको शव हस्तान्तरण गरिने जानकारी दिइएको बताइन् ।

नाभाल्नी पक्षधर समूहले ती भ्रष्टाचारविरोधी अभियानकर्ताको हत्या राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको बताएका छन् । एउटा अधिकारवादी समूहले उनलाई श्रद्धाञ्जली अर्पण गरेको आरोपमा ३०० जनालाई पक्राउ गरिएको बताएको छ ।

पश्चिमी देशहरूले ४७ वर्षीय प्रतिपक्षी नेताको अचानक भएको मृत्युका लागि रुसी अधिकारीहरू जिम्मेवार रहेको आरोप लगाएका छन् । धनी देशहरूको समूहका विदेश मन्त्रीहरूले रुसलाई उक्त घटना हुँदाको परिस्थितिहरूबारे तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् ।

गत शुकबार जेल अधिकारीहरूले नाभाल्नीको मृत्यु भएको घोषणा गरेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक रूपमा त्यसबारे टिप्पणी गरेका छैनन् । उनको मृत्युलगत्तै क्रेमलिनले त्यसबारे आफूलाई जानकारी रहेको र राष्ट्रपतिलाई पनि सूचित गरिएको बताएको थियो ।

नाभाल्नी रुसमा पुटिनका सबैभन्दा प्रखर विरोधीमध्ये एक थिए । उनीमाथि राजनीतिक रूपमा प्रेरित एउटा अभियोग लगाइएको थियो र तीन दशकको जेल सजाय तोकिएको थियो ।

उनलाई मस्कोबाट करिब १,९०० किलोमिटर उत्तरस्थित एउटा जेलमा राखिएको थियो जेल अधिकारीहरूले उनकी आमालाई जेलभित्रै हिँड्ने क्रममा उनी लडेको र बेहोस भएको अनि त्यसपछि उनको निधन भएको बताएको उनका सहयोगीहरूले जानकारी दिएका छन् ।

उनको निधन भएको जेलमा शनिवार उनकी आमा गएकी थिइन् र त्यहाँ नभाल्नीको मृत्यु स्थानीय समय अनुसार १४ः१७ बजे भएको बताइएको यार्मिशले बताइन् । नभाल्नीका अर्का सहयोगी इभान जाडानोभका अनुसार उनकी आमालाई ‘सडन डेथ सिन्ड्रोम’का कारण उनको निधन भएको बताइएको थियो । त्यो भनेको एउटा सामान्य खालको र अस्पष्ट अवस्था हो अनि त्यसमा व्यक्तिको समस्या थाहा नभएको अवस्थामा हृदयाघातबाट निधन हुन्छ ।

नभाल्नीका सहयोगीहरूको टोलीले उनकी आमालाई उनको शव कारागार परिसर नजिकैको सालेखार्द सहरमा लगिएको बताइएको थियो तर उनी त्यहाँ पुग्दा शवगृह बन्द थियो ।


प्रतिक्रिया