`

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत प्राप्त

Nepal One HD ६ फागुन २०८० १८:३०
प्रमुख खबर

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आइतबारको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

१०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले यादवको पक्षमा मतदान गरेका थिए भने ३५ जना सांसदले विपक्षमा मतदान गरेका थिए । नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका थिए ।

आइतबारको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टीसहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको संयुक्त सरकार छ। मधेश प्रदेशमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

त्यस्तै, नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन्। राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन् । प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद छन्।


प्रतिक्रिया