प्रवेशमा रोक लगाएपछि सैनिक मञ्च गेटमै विरोधस्वरुप संचारकर्मीको क्यामेरा डाउन
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा संचारकर्मीलाई सूचना विभागको पासका आधारमा प्रवेश नदिइएपछि उनीहरुले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई विषेश पास नभएको भन्दै प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन । सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै क्यामेरा डाउन गरेका थिए । समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको थियो ।
उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहेको थियो । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
