संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्छः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्ने बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा महासमिति बैठकको उद्घाटन गर्दै सभापति देउवाले शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्ने बताएका हुन् ।
उनले संविधानको उचित कार्यान्वयनबाट मात्रै मुलुकमा सुशासन, विकास र शान्ति कायम हुनसक्ने बताए । उनले भने, ‘संविधान कार्यान्वयनका सवालमा देखिएका अस्पष्टता पहिचान गर्नुपर्छ । शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्छ ।’
उनले अन्तरिम संविधानदेखि अहिलेसम्मको संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएकाले संविधानको रक्षाका लागि वर्तमान गठबन्धन र सरकार बनेको बताए ।
उनले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएको र यसका गुण र दोष दुवै रहेकाले यस प्रणाली अन्तर्गत कुनै एक पार्टीले बहुमत ल्याउन असम्भव जस्तै रहेको बताए । आगामी निर्वाचनमा चुनाव अघि गठबन्धन गर्ने नगर्ने भन्ने कुरा त्यसैवेला निर्णय गर्ने भन्दै देउवाले आफ्नो पार्टी सङ्गठनात्मक रूपमा बलियो र जनताले भरोस र विश्वास गरेको पार्टी भएकाले जनताको भरोसा खण्डित गर्न दिन नहुने बताए ।
उनले भने, ’भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कलीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ ।’
महासमिति बैठक तीन दिनसम्म चल्नेछ । महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता रहेको छ ।
