संवैधानिक आयोगहरुको प्रभावकारीता बढाउन राज्यले प्रयाप्त स्रोत साधन उपलव्ध गराउनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक आयोगहरुको प्रभावकारीता बढाउन राज्यले प्रयाप्त स्रोत साधन उपलव्ध गराउनुपर्ने बताएका छन् । राष्ट्रिय समावेशी आयोगको तेश्रौ वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संवैधानिक आयोगहरुले स्रोत साधनका अभावका कारण काम गर्न नसकेको गुनासो गर्नेगरेको भन्दै राज्यले यस बिषयमा बिशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
स्रोत साधनको अभावमा लक्ष्य अनुसारको काम पुरा हुन नसक्ने उनले बताए । उनले आयोगहरुले पनि आफ्नो क्षेत्राधिकारमा रहेको कामलाई प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिए । तिमिल्सिनाले आयोगले गरेका सिफारिसहरुलाई राज्यका सम्बन्धीत निकायहरुले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् । उनले जुनसुकै नागरिकले विना अवरोध राज्यबाट सेवा पाउनुपर्ने बताए ।
कार्यक्रममा समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाले राजनीतिमा बिभिन्न प्रकारका विभेद अन्त्य गरि समावेशी सिद्धान्तलाई अवलम्वन गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिए । आरक्षणलाई सामाजिक न्यायको दृष्टिकोणबाट उपयुक्त बनाउन पनि सिफारिस गरिएको उनले बताए ।
