युक्रेनको आक्रमणमा ६० रुसी सैनिकको मृत्यु


बीबीसी । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएका छन् । एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका बेला उक्त आक्रमण भएको हो ।
युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ। तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सेर्गेई शोइगुसँग बैठक गरेको केही घण्टापछि घटना भएको बताइएको छ ।बैठकका क्रममा शोइगुले धेरै क्षेत्रको अग्रपङ्क्तिमा रुसले सफलता हासिल गरिरहेको दाबी गर्दै पछिल्लो समय एभ्डीभ्का नगरमाथि गरिएको कब्जाबारे उल्लेख गरेका छन् । तर दोनेत्स्कमा भएको घटनाबारे उनले केही उल्लेख गरेनन् ।घटनामा बाँच्न सफल एक सैनिकका अनुसार मेजर जेनरल ओलेग मोइसिएफको स्वागतका लागि सैनिक जवानहरूलाई ब्रिगेड कमान्डरहरूले खुला मैदानमा उभिन लगाएका थिए ।उनीहरूलाई दुईवटा क्षेप्यास्त्रले निशाना बनाइएको बताइएको छ । सो क्षेत्रका गभर्नर एलेक्सान्डर ओसिपोभले घुमाउरो तरिकाले घटनाको पुष्टि गरेका छन् । तर त्यसबारे आएका विवरणहरूलाई ओसिपोभले उनकै शब्दमा तथ्यमा आधारित नभएको र बढाइचढाइ गरिएको दाबी गरेका छन् ।