अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले पर्यटनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामालाई बर्खास्त गर्न माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले गलत काम गर्ने लामा र किरातीको राजीनामा माग गरेका हुन् ।
उनले ल्यारकाल लामाले गरेका कामको प्रधानमन्त्री उद्घाटन गर्न जानु गलत भएको बताए । उनले यस्ता कुरा गरेर भ्रष्टाचार नियन्त्रण नभई संरक्षण हुने बताए । त्यस्तै उनले सातदोबाटो घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालाई हटाउन माग गरेका छन् ।
उनले भने, ‘शेरबहादुर तामाङले बोल्दा शब्द चुक भएको थियो तर गलत थिएन । तर उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभयो । खै अहिले मन्त्रीको नैतिकता ?’
त्यस्तै सांसद पन्तले अख्तियारमा बयान दिएर आएका मन्त्री अहिले पनि पदमा रहेकोमा आपत्ति जनाए । उनले अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई बर्खास्त गर्न माग गरे । उनले आफूहरुका माग पूरा नगरे एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।
टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले बयान लिएको थियो ।
