`

बालकुमारी घटनामा दोषि देखिएकालाई कारवाही गर्न माग गर्दै रास्वपा र राप्रपाको विरोध

Nepal One HD १० फागुन २०८० १२:०३
प्रमुख खबर

काठमाडौँ / ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जानेगरि भएको घटनामा दोषि देखिएकालाई कारवाही गर्न माग गर्दै रास्वपा र राप्रपाले विरोध जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन लुकाएर सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् । सांसद श्रेष्ठले सरकार संसदप्रति जिम्मेवार नरहेको आरोप लगाए । सांसद श्रेष्ठले घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नभए रास्वपाले संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

त्यस्तै राप्रपा सांसद ज्ञानबहादुर शाहीले बालकुमारी घटना हत्या भएको प्रधानमन्त्रीले नै बताएको भन्दै मन्त्री प्रकाश ज्वाला र गोली चलाउन आदेश दिने गृहमन्त्रीलाई कारवाही गर्नुपर्ने बताए । उनले अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसंग चिया खाइरहेको भन्दै प्रधानमन्त्री देशको अदालत भन्दा माथि हो भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै सांसद शाहीले ललिता निवास प्रकरणमा ठूला व्यक्तिहरुले उन्मुक्ति पाएको र व्यापारिलाई व्ल्याकमेलका लागि पक्राउ गरिएको जिकिर पनि गरेका छन् ।


प्रतिक्रिया