`

‘संसदका महासचिवको नागरिकता र राहादानीको विषय किन उठाउनुहुन्न ?’

Nepal One HD ११ फागुन २०८० १३:०३
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सापकोटाले विपक्षी दलका सांसदमा संसदका महासचिवका तीन वटा नागरिकताको विषय उठान गर्न आग्रह गरेका हुन् ।

विपक्षीले संसदमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै सांसद सापकोटाले संसदका महासचिवको नागरिकताको विषय पनि उठान गर्न आग्रह गरेका हुन् । उनले भने, ‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसदका महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न ।’

उनले प्रतिपक्षी दलका सांसदहरुले हुलहुज्जत गरेको, मर्यादा पालना नगरेको र अन्य सांसदहरुले बोल्न पाउने अधिकार खोसेको आरोप लगाए । राप्रपाका सांसद ज्ञानेन्द्र शाही सदन चल्न नदिने बताएपछि सापकोटा आक्रोशित बनेका हुन् ।

सापकोटाले भने, ‘संसद चल्न नदिन र अराजकता प्रदर्शन गर्न जनताबाट निर्वाचित भएर आएको हो ? यो व्यवस्था गलत छ भने तपाईहरु संसदको पदबाट राजीनामा दिएर सडकमा जानुहोस् । तपाईंहरुलाई विद्रोह गर्ने अधिकार छ तर संसदमा होइन सडकमा जानुहोस ।’


प्रतिक्रिया