राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेद्वारी दिने
काठमाडौँ / नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उम्मेद्वारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उम्मेद्वारी दिने निर्णय निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै उनले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको उनले बताए ।
गठबन्धन गर्ने वा नगर्ने भन्ने बिषय तात्कालिन बिषय भएको उनको भनाइ छ । बैठकले चैत्र १ गते गर्ने भनिएको मधेश तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैंशाख १५ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । त्यस्तै बैठकले नेताहरुको कार्यबिभाजन पनि गरेको छ । जस अनुसार कोशीको इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्री कुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, बागमतीको इन्चार्ज अग्नीप्रसाद सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन् । त्यस्तै लुम्बिनी इन्चार्जमा चक्रपाणी खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल र सहइन्चार्ज टुंग्याउन बाँकी र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर रहनुभएको छ भने बिशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य र सहइन्चार्जमा यशोधा अधिकारी तोकिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
यसैबीच माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन् । केहि नेताहरुलाई जिम्मेवारी बिहीन बनाइएको भन्दै फरक मत राखेको शर्माले बताए ।
माओवादी बैठकले मिटरव्याज पीडितको समस्या समाधान गर्न र दुध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
