गाजामा गरेको हमलालाई लिएर अन्तर्राष्ट्रिय समुदायद्वारा इजरायलको आलोचना


बीबीसी । इजयायली आक्रमणबाट गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जनाको मृत्यु भएको छ भने ७६० जना घाइते भएका छन् । एउटा ठूलो भीड गाजाको दक्षिण पश्चिमी तटीय सहरमा राहत सामग्री बोकेका ट्रकहरूको लस्करतर्फ अघि बढेको थियो। उक्त स्थानमा इजरायली सैन्य ट्याङ्कहरू पनि थिए ।
इजरायलको सेनाले आफ्ना ट्याङ्कहरूले गोली चलाएको तर ट्रकहरूको लस्करमा आक्रमण नगरेको बताएको छ। कतिपय प्यालेस्टिनी नागरिकहरूले इजरायली फौजले आफूहरूमाथि गोली चलाएको आरोप लगाएका छन् । इजरायलले खिचेको हवाई दृश्यमा सयौँ मानिसहरू लरीको आसपास भएको देखिएको छ।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मृतक र घाइतेको सङ्ख्या पुष्टि गर्दै इजरायल माथि नरसंहारको आरोप लगाएको छ । यो घटनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले एउटा बैठक आह्वान गरेको छ ।
खानेकुरा लिनका लागि आतुर भीड माथि इजरायली सेनाले गोली चलाएको घटना अनुचित भएको फ्रान्सले बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाबारे चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले युद्धविरामका लागि भइरहेका पहल बिथोल्ने बताएका छन् ।
स्वास्थ्य सहयोग उपलब्ध गराउँदै आएको एउटा परोपकारी संस्था एमएसएफले घटनालाई विध्वंसकारी भन्दै तत्काल दिगो युद्धविरामका लागि आह्वान गरेको छ । हमासका अनुसार युद्धमा ३० हजार मानिसहरूको मृत्यु भैसकेको छ।