वाईफाई नेटवर्कको नाम बदलेर युक्रेनको समर्थन गर्ने रुसी विद्यार्थीलाई जेल


बीबीसी । मस्कोका एक विद्यार्थीलाई आफ्नो वाईफाई नेटवर्कको नाम बदलेर किएभको समर्थन हुने खालको नारा राखेको आरोपमा १० दिनको जेल सजाय सुनाइएको छ । मस्को स्टेट युनिभर्सिटीका ती विद्यार्थीले वाईफाई नेटवर्कको नाम ‘स्लाभा युक्रेनी!’ राखेका थिए ।
त्यसको अर्थ नेपाली भाषामा ‘जय युक्रेन’ वा ‘युक्रेनको जय होस्’ भने जस्तो हुन्छ । मस्कोको एउटा अदालतले बिहीबार उनलाई ‘चरमपन्थी सङ्गठनहरूको प्रतीक’ प्रदर्शन गरेको भन्दै दोषी ठहर गरेको हो । रुसले युक्रेनमा हमला सुरु गरेयता मस्कोले हजारौँलाई उक्त हमलाको आलोचना गरेको वा युक्रेनलाई समर्थन गरेको आरोपमा जेल सजाय सुनाएको छ । त्यस्तो आरोपमा मस्कोले कैयौँलाई जरिवाना तिराउने पनि गरेको छ ।
एकजना प्रहरीले उक्त वाईफाई नेटवर्कको नामबारे अधिकारीहरूलाई बताएपछि ती विद्यार्थीलाई बुधवार बिहान मस्कोमा पक्राउ गरिएको हो । अदालतमा पेस भएका कागजातहरूका अनुसार अधिकारीहरूले उक्त विश्वविद्यालयभित्र विद्यार्थीहरूले प्रयोग गर्ने आवासमा रहेको उनको कोठाको निरीक्षण गरेका थिए ।
त्यहाँ उनीहरूले कम्प्युटर र वाईफाई राउटर फेला पारेका छन् । अदालतले ती विद्यार्थीले आफ्नो नेटवर्कमा आबद्ध भएका असीमित सङ्ख्याका प्रयोगकर्ताबीच ‘स्लाभा युक्रेनी’ नारालाई प्रवर्द्धन गर्न त्यसको प्रयोग गरेको बताएको छ । उनको राउटर अहिले जफत गरिएको छ ।