प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा छः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले ह्वीपकै रुपमा आफ्नो निर्देशन मानेर सबै सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश ठूलो दुर्घटनामा जाने समेत जिकिर गरे । प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा रहेको भन्दै उनले सबैलाई विश्वासको मत दिन ह्वीप लगाए ।नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प हो कि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिए ।उनले भने, ‘एमालेका लागि यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छोडिदिउँ, यतिबेला अर्को कुनै विकल्प छैन । कि प्रचण्डको नेतृत्वमा बनेको समीकरणले जित्छ । नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको भोलि अल्पमतको सरकार बन्छ । दुईवटा मध्ये एउटा कुरा हुन्छ ।’ उनले कांग्रेसको सरकार बने देश दुर्घटनामा जाने र त्यसो हुनबाट रोक्नुपर्ने बताए ।
