`

सहकारी विवादमा गृहमन्त्री लामिछाने दोषी हुनुहुन्नः प्रधानमन्त्री

Nepal One HD ६ चैत २०८० १३:१९
राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी नभएको जिकिर गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा नरहेकाले दोषी नरहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ । यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’

प्रधानमन्त्रीले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ्ग भएको सदनलाई जानकारी गराए ।

उनले दोषी देखिए लामिछानेलाई कारवाही गर्न कसैले नरोक्ने बताए । उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न उठाउँदै आएको छ।


प्रतिक्रिया