`

संसदीय समिति गठनको माग गर्दा सरकार भाग्योः सांसद खतिवडा

Nepal One HD ७ चैत २०८० १३:५१
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले आयोग गठन गर्ला भन्नेमा आशंका व्यक्त गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा खतिवडाले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेको बताएका हुन् ।

उनले भने, ‘सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो । सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो । जनतालाई ढाँट्न पाइँदैन।’

उनले सरकारको इन्जिन र एक्सेलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केही गर्न सक्दैन भन्ने महसुस भएको टिप्पणी गरे ।


प्रतिक्रिया