`

चालू आवका सबै योजना जेठभित्रै सम्पन्न गर्ने मुख्यमन्त्रीको दावी

Nepal One HD १७ वैशाख २०८१ १६:५४
अर्थ समाचार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको दावी गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताएका हुन् । “जेठ मसान्तभित्र सबै कामहरु गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन”, मुख्यमन्त्री कँडेलले सभामा भने ।

उनले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताए । मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र सङ्घीय सरकारलाई बजेट विनियोजनका लागि पठायएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताए । त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उनले बताए । प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उनले सदनलाई जानकारी गराए ।


प्रतिक्रिया