`

इस्तानबुलको ‘ताक्सिम स्क्वायर’मा प्रदर्शनमा प्रतिबन्ध

Nepal One HD १९ वैशाख २०८१ ६:४६
विश्व

इस्तानबुलको मध्य ‘ताक्सिम स्क्वायर’मा श्रमिक दिवस (मे दिवस) को दिन कुनै पनि विरोध प्रदर्शन गर्न नदिन मङ्गलबार टर्कीको प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न प्रतिवन्ध लगाइएको घोषणा गरेको छ ।

एएफपीका संवाददाताका अनुसार प्रहरीले चोकको चारैतिर अग्लो धातुको बार लगाएको छ । सोमबार अधिकारीहरूले मे दिवस मनाउनका लागि ४० क्षेत्र निर्धारण गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।

सन् २०१३ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारविरुद्ध भएको प्रदर्शनको केन्द्रबिन्दु रहेको उक्त चोकको प्रयोग गर्न केही युनियनले माग गरेको तर यसलाई अनुमति नदिइने यर्लिकायाले बताउनुभयो ।

“तक्सिम स्क्वायर र यसको वरपरको क्षेत्र कुनै पनि प्रदर्शनका लागि सुविधाजनक छैन,” उहाँले भन्नुभयो । गत मार्च ३१ मा भएको स्थानीय चुनावमा विजयी भएको टर्कीको प्रमुख प्रतिपक्षी दल सीएचपी पार्टीले भने श्रमिक ¥यालीका लागि चोक खुला गर्न सरकारलाई दबाब दिएको छ ।

सीएचपीका नेता ओजगुर ओजेलले सोमबार गृहमन्त्रीलाई ताक्सिममाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “तक्सिमलाई प्रदर्शन गर्न निषेधित गर्नु भनेको संविधानको वर्खिलाप गर्नु हो ।”

एम्नेस्टी इन्टरनेसनलको अधिकार समूहले पनि यो प्रतिबन्ध पूर्णतया नक्कली सुरक्षा र सार्वजनिक व्यवस्थामा आधारित रहेको भन्दै यसलाई हटाउन माग गरेको छ ।एम्नेस्टीले उक्त चोकलाई ‘ठूलो साङ्केतिक महत्वको स्थान’ भनेको छ । एम्नेस्टीले भनेको छ, “एक दशकभन्दा बढी समयदेखि टर्कीका अधिकारीहरूले गैरकानुनी रूपमा मानिसहरूको भेला हुन पाउने अधिकारलाई प्रतिबन्धित गरेका छन् र चोकमा हुने शान्तिपूर्ण विरोध प्रदर्शनलाई अपराधीकरण गरेका छन् ।”

सरकार र प्रहरी प्रशासनले मे १ का लागि ४२ हजारभन्दा बढी प्रहरीलाई प्रदर्शन र यसका कारण निम्तिनसक्ने दङ्गा नियन्त्रणका लागि भन्दै तैनाथ गर्ने जनाएको छ ।


प्रतिक्रिया