`

प्रतिनिधिसभामा कांग्रेसको अवरोध कायमै, अर्को बैठक जेठ ३ गते बस्ने

Nepal One HD १ जेठ २०८१ १८:२४
प्रमुख खबर

काठमाडौ । प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । त्यस लगत्तै राष्ट्रपतिलाई धन्यवाद दिने प्रतिनिधिसभाको बैठक बसेको थियो । सभामुख देवराज घिमिरेले बैठक अगाडी बढाएलगत्तै प्रतिपक्षी सांसद उठेर वेल घेराउ गरेका थिए । सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताए ।
सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दै उनले अघि भने, अध्यादेशलाई पहिलो दिन नै टेबल गर्नुपर्ने व्यवस्था छ । त्यो पनि हामीले गरेका छैनौं ।’

सभामुखले पटक–पटक अनुरोध गरेपनि प्रतिपक्षी सांसदले नमानेपछि बैठक स्थगित भएको हो । अर्को बैठक जेठ ३ गतेका लागि बोलाइएको छ ।


प्रतिक्रिया