`

सोह्रौँ योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकता

Nepal One HD २ जेठ २०८१ १४:१०
अर्थ समाचार

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार सोह्रौँ पञ्चवर्षीय आवधिक योजना सार्वननिक गर्दै उपाध्यक्ष श्रेष्ठले यो योजना पन्ध्रौं भन्दा फरक भएको बताएका हुन् । उनले यो योजना पूर्ण कार्यन्वयन हुने दाबी गरे । उनले सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई महत्व दिएको बताए । सोह्रौँ योजनाले पाँच वर्षमा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

त्यस्तै, पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अन्तरवस्तुमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति आय १ हजार चार सय ५६ अमेरिकी डलर रहेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्ले पारित गरेको सोह्रौँ योजनमा नेपाली नागरिकको औसत आयु ७१ वर्षबाट ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ ।
यस्तै, उपाध्यक्ष श्रेष्ठले १६ औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताए ।


प्रतिक्रिया