आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने रविको अडान
काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भएको छलफलपछि लामिछानले संसदमा आफुले बोल्न पाउनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिए ।
उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सवैको भएको भन्दै संसदमा आफुमाथि लागेको आरोपको बिषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनको भनाइ छ ।
लामिछानले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गरे । कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए ।
एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने बिषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।
