`

‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’ : अर्थविज्ञ

Nepal One HD ३ जेठ २०८१ २१:१७
अर्थ समाचार

काठमाडौँ, ३ जेठ : अर्थविज्ञहरूले राज्यको अर्थतन्त्र वृद्धिमा विप्रेषण (रेमिट्यान्स) महत्वपूर्ण भए पनि विकासको दीर्घकालीन माध्यम भने नभएको बताएका छन् । फेड्रिक इबर्ट स्टिफ्टुङ्ग (एफइएस) ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र सामाजिक न्याय’ विषयक कार्यक्रममा विज्ञहरूले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्यले रेमिट्यान्स विकासको दीर्घकालीन उपाय नहुने तर्क गर्दै स्वदेशी उत्पादनमा जोड नदिएसम्म विकास नहुने धारणा राख्नुभयो । “विकास र उत्पादन अन्योन्याश्रित छन् । हामीले अरूबाट ल्याएको भरमा विकास भयो भन्न मिल्दैन, विकास हुन स्वदेशी उत्पादनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

छलफलमा सहभागी अन्य व्यक्तिले पनि विकास, राज्यको अर्थतन्त्रको अवस्था र सामाजिक न्यायमाथि विमर्श गर्नुभएको थियो । त्यसक्रममा मुख्यवक्ता नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा निलम ढुङ्गानाले राज्यको अर्थतन्त्रमा कोभिड– १९ का कारण नकारात्मक असर परे पनि विस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालको अर्थतन्त्रमा क्रमिक परिवर्तन आए पनि कोभिड महामारी, भूकम्पजस्ता विपद्ले समस्या सिर्जना गरेको धारणा राख्नुभयो । यस्तै, डा कल्पना खनाल, सरस्वती बहुमुखी क्याम्पसकी सहायक प्राध्यापक जमुना श्रेष्ठलगायतले अर्थतन्त्रको अवस्था र सुधारका विषयमा धारणा राख्नुभएको थियो ।


प्रतिक्रिया