बागलुङको कालापातलमा तामाखानीको सम्भाव्यता अध्ययन


बागलुङ, जेठ २०-बागलुङको कालापातल तामाखानी उत्खनन्का लागि विज्ञ टोलीले सम्भाव्यता अध्ययन थालेको छ ।करिब सय वर्ष अघिसम्म तामा निकालिएको बागलुङको जैमिनी नगरपालिका–३ कालापातलको तामाखानीमा खानी तथा भूगर्भ विभागको अनुमतिमा विदेशी प्राविधिकसहितको समूहले प्रारम्भीक सम्भाव्यता अध्ययन सुरू गरेको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।हाल विभागको अनुमतिमा मोहङ मिनिरल्स र शुभम गु्रपले प्रारम्भीक अध्ययन गरिरहेको छ ।
जैमिनी नगरपालिका–३ का वडा अध्यक्ष कृष्ण भुजेलले पुर्खाले घरेलु हात हतियारले तामा निकालेको भग्नावशेष सुरुङमा अहिले प्राविधिक समूहले तामाको यथार्थ अवस्था पत्ता लगाउन अध्ययन थालेको बताउनुभयो ।
शुभम ग्रुपका निर्देशक अशोक विकले पनि हाल खानीमा सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिनुभयो । “अहिले प्रारम्भीक अध्ययन सुरु गरेका छौँ, अध्ययनका लागि करिब छ महिना लाग्ने हाम्रो अनुमान छ । त्यसपछि यहाँ तामा उत्खनन गर्न सकिने अवस्था रहे नरहेको विषयमा अनुमति दिने निकायलाई अध्ययन प्रतिवेदन बुझाउछौँ”, विकले भन्नुभयो ।
तीन वर्षअघि बागलुङ र म्याग्दीका विभिन्न स्थानमा तामाखानीको प्रारम्भीक सम्भाव्यता अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीपछि सो कार्य स्थगित गरेको थियो ।