बजेटले राखेका लक्ष्यहरु अपूरा छन्ः सांसद पन्त


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैं भित्र केही केही अन्तरविरोधी रहेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले बजेटले आफैं दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तरविरोधी रहेको बताए ।
उनले भने, ‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ । लैङ्गिक समानताको कुरा छ, तर बालबालिका मन्त्रालयको बजेट घटेको छ । मिल्यो मिलेन नि त्यसकारण बजेट आफैं भित्रमा केही केही अन्तरविरोधी छ । बजेटले आफैं एउटा कुरा गरेको छ, त्यो अनुसारको बजेट रकम छुट्टाइएको छैन । अनि कसरी काम पूरा हुन्छ । यस्ता प्रश्नहरु विगतका बजेटमा पनि थिए यसमा पनि छ ।’
बजेटले राखेका लक्ष्यहरु व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? भन्ने प्रश्न गर्दै लक्ष्यहरु अपूरो नहुने हिसाबले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले बजेट ल्याएका छौं तर त्यो बजेट भोलि व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा तोकिएको लक्ष्यलाई पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? त्यहाँबाट हामीले बजेको मूल्यांकन गर्नुपर्छ । मैले मेरो पार्टीले साथ दिएको सरकार हो त्यसैले यो बजेटलाई पनि साथ दिन्छौ, भोट हाल्छौं । तर के पनि चाहन्छौ भने यो भोलि व्यवहारमा जाँदा कार्यान्वयन होस्, बजेटले राखेका लक्ष्यहरु अपूरा नहुन् र जनतालाई जे प्रतिबद्धता जाहेर गरेको छ, भोलि फेरि जनताको समुख जाँदा अर्कोपाली बजेट प्रस्तुत गर्दा पहिलाको बजेटमा राखेका कुरा पुरा गर्न सक्यौं भन्न सक्नुपर्छ ।’
जुन बजेटले आर्थिक उत्पादन, गतिशिलता, औद्योगिक क्षेत्रलाई प्रोत्साहित गर्ने कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने, काम गर्दैन त्यस्तो पुँजीगत खर्चमा अलि पारदर्शि र कडा भएर हेर्न आवश्यक रहेको पनि उनको भनाइ छ ।