पार्टी आफ्नो चरित्रमा फर्किने नै हो


गणेश कार्की ।
असाध्यै धेरै साथीका फोन र म्यासेज आइरहेका छन् । यसैले सबैलाई भन्दैछुः
फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुल्ला बहस गर्ने सोचको पक्षपाती हुँ । हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म । रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु । पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम् को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचि मिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न शुरू कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।
मलाई विश्वास छ – पार्टीले आफ्ना गल्ती सुधार्ने नै हो । पार्टी आफ्नो चरित्रमा फर्किने नै हो । पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइदैन भन्ने सबूत प्रमाण म छु । नाजायज काम गरेकाहरू मात्र हुन्, विचारसँग डराउने । यदि कोही तपाईं सामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुन पर्दैन भन्नुहोला । पार्टी अब बन्दैछ, आफ्ना गल्तीहरू शुरूदेखि सुधार गरेर ।