ओली आउने बाटोमा नेपालले आँखा बिछ्याइरहे तर…..


मोनिका सिंह ।
काठमाडौ । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिव तीनवर्ष एक आपसमा आँखा समेत जुधेन । कुनै औपचारिक मञ्चमा भेट भए पनि हेराहेर र हात मिलाउने काम समेत लामो समयदेखि भएन ।
तर यस्तो तिक्ततापूर्ण सम्बन्धलाई परिस्थितिले तोड्न बाध्य पार्यो गएको फागुनमा । जब फागनु २१ मा कांग्रेससंगको सत्ता समीकरण बदलेर माओवादी फेरि एमालेको आंगनमा पुग्यो , तब नेपालसंग आँखा समेत जुधाउन नचाहने ओलीलाई नेपालको दैलोमा पु¥यायो। कारण थियो सरकारमा सुविधाजनक बहुमत पुर्याउनु।
फागनु २२ गते नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टुप्लुकै नेपाल निवास कोटेश्वर पुग्नु भयो। यसभन्दा अघि छलफलमा बोलाउदा नेपाल नआएपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली नेपाल निवास पुग्नु भयो। अघिपछि हात पनि मिलाउ र सिधा हेराहेर गर्न समेत नचाहने एमाले अध्यक्ष ओली बडो मधुर शैलीमा नेपाल निवास पुग्नु भएको थियो। ओलीले त्यसबेला नेपाललाई हातै समातेर नयाँ समीकरणमा सहभागि हुनका लागि प्रेम पूर्बक आग्रह गर्नुभएको थियो ।
हुन त एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन बाराम्बार आग्रह गर्दा नेपालले अस्विकार गर्दै आउनु भएको थियो । तर त्यो दिनको भेटले चट्टान जस्तो छाती गरेका नेपाल पग्लनु भएको थियो र हुन्छ भन्दै आश्वस्त पार्नुभएको थियो ।
त्यसपछि नेपाल ओली एउटै डुंगाका यात्री बन्दै नयाँ समीकरणमा अगाडि बढेका थिए। तर यो सम्बन्ध पनि लामो समय टिकेन । नेकपा एसका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने आश्वासनको पछि कुदेपछि उहाँ र ओेलीबीचको सम्बन्धमा फेरि तिक्तता देखियो। यो कहिले सुदुरपश्चिम सरकारमा गएर पोखियो, कहिले कोशी प्रदेशमा पुगेर पोखियो।
अहिले पनि नेपाल र ओली एउटै डुंगाका सत्ता सहयात्री हुनुहुन्छ। तर नेपालको मुन्टो कांग्रेस तिर फर्किएको छ भने ओलीको प्रचण्ड तर्फ । तर एउटै सरकारमा सहभागि भएपनि दुई नेताहरुबीचको सम्बन्धमा भने माधुर्यता छैन।
सबैले थाहा पाउने गरि आइतबार प्रष्ट दुई नेताबीचको सम्बन्धको तितो नेकपा एसको महाधिवेशनमा देखियो। जब नेकपा एसको महाधिवेशन उद्घाटन समारोहमा ओलीका लागि राखिएको कुर्सी रित्तै भयो। नेकपा एसले अध्यक्ष ओलीलाई अतिथि वक्ताका रुपमा निम्तो दिएको थियो । अध्यक्ष ओलीको त कुरा छाडौँ एमालेले कुनै प्रतिनिधि समेत पठाएन।
उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसी लगायत नेता सहभागी हुनुहुन्छ । त्यो मञ्चमा अर्को एउटा गजबको अर्को दृष्य थियो – उपेन्द्र यादव र अशोक राईको जम्क भेट । तर एमालेको कोही नेताहरु नदेखिएपछि अध्यक्ष नेपालले निकै समय ओली बाटोमा आँखा बिछ्याइरहेको भान हुन्थ्यो।
महाधिवेशनको उद्घाटन सत्रमा निम्तो पाए पनि एमाले किन सहभागी भएन ? यो प्रश्न राजनैतिक वृतमा उठिरहेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कार्यव्यस्ततको कारणले उद्घाटन सत्रमा उपस्थित हुन नसकिएको बताउनुभयो । “हामीलाई औपचारिक रूपमा निमन्त्रणा आएको थियो । तर सबै कार्यक्रममा जान सकिँदैन । शीर्ष नेताहरूको पनि व्यस्त हुनुभयो” उहाँले भन्नुभयो, “त्यसैले व्यस्तताका कारणले हामी नेकपा (एस)को बैठकमा सहभागी हुन सकेनौ ।”गौतमको भनाई थियो –निम्तो आएका सबै कार्यक्रममा जान भ्याइन्छ भन्ने छ र ?