सशस्त्र प्रहरी निरीक्षक स्व दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार रायन घिमिरेलाई


काठमाडौँ, १७ असारः सशस्त्र प्रहरी निरीक्षक स्व दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सङ्घकी उपाध्यक्ष सावित्रा कुमारी जैसीले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयो ।
यसअघिका वर्षमा सो पुरस्कार नेपाल एपिएफ स्कुल कीर्तिपुरका छात्र आशिष रोकाया, साइजित पाण्डे, अनिष थापामगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।
स्व पाठको स्मृतिमा सिसं ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीद्वारा सामूहिकरुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला सङ्घको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपिएफ स्कुलमा अध्ययनरत सङ्गीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आइएको छ ।
स्व पाठकले ‘पक्षी र निन्द्रा लाग्दैन’ गरी दुई वटा एल्बम बजारमा ल्याउनुभएको थियो । गीतसङ्गीतमा रुचि राख्ने पाठक २०६०÷६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल तथा आठौँ कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधिसमेत हात पारेका थिए ।
गीत लेख्ने, सङ्गीत दिने र आफँै गाउने क्षमता भएका स्व पाठकको प्रतिभालाई अमर राख्नका लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । कर्तव्यपालनाको सिलसिलमा २०७२ चैत २८ गते धादिङको मलेखुमा भएको सडक दुर्घटनामा परी उहाँको निधन भएको थियो ।