`

सिमलताल पहिरोमा बेपत्ता बसका १५ यात्रुको शव फेला

Nepal One HD १ साउन २०८१ १२:२४
प्रमुख खबर

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । 


सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मंगलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ ।


भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । 


यसैगरी चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ । 


उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । छ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् । 


गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । 


वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।


टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ । 


काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिए


 भारतीय सीमावर्ती जिल्लामा समन्वय
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।


 भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो ।


यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । 


नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए ।


सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिकरुपमा कुराकानी गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो ।  


यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 


उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ । 


प्रतिक्रिया