`

वीरगञ्ज महानगरले दुर्घटनाग्रस्त एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

Nepal One HD २ साउन २०८१ १६:५४
समाचार

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । 


मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएका थिए ।


समाचार प्रकाशन भएको भोलिपल्टै अर्थात् बुधबार  बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरे ।


“बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भने, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कायाृन्वयन गर्नेछ ।”


जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो ।


नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए ।


प्रतिक्रिया